इटहरी- कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको खुलासा गरेका छन्।
इटहरी उपमहानगरपालिका २० तरहरामा शुक्रबार पत्रकारहरूसँगको भेटघाटका क्रममा नेता थापाले आफूमाथि निर्मल निवासको हस्तक्षेप भएका कारण निरीह, लाचार, अपमानित र अपहेलित भएर पार्टीमा बसिराख्न सक्ने अवस्था नरहेका कारण पार्टीबाट अलग भएको बताएका हुन्। ‘हामीले अब आगामी दिनमा कसरी राजसंस्थाको एजेण्डालाई बोकेर हिड्ने,’ उनले भने, ‘’राप्रपा जस्तो पार्टीमा त राजाको हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था पुर्नस्थापना भयो भने अन्य पार्टीहरूमा हुँदैन?’
राप्रपा देशको एउटा राजनीतिक शक्तिको रूपमा भन्दापनि कुनै एउटा विषयलाई पुर्नस्थापित गर्ने संघर्ष समितिको रूपमा परिणत हुने र निर्मल निवासको रिमोट कन्ट्रोलबाट सञ्चालन हुने कुरालाई दृष्टिगत गरेका कारण आफू पार्टीबाट अलग भएको उनको तर्क छ। अब राप्रपाबाट अलग भएसँगै राजसंस्था बिनाको हिन्दुराष्ट्र अभियानमा आफू सक्रिय हुने उनले बताए।
‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ। विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ। त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ। हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा गर्यो।’ निर्मल निवासको हस्तक्षेपले मात्रै आफू हारेको उनको बुझाइ छ। ‘हामीले हार्नुमा हाम्रै पनि केही कमीकजोरी छन्, प्राविधिक त्रुटी छन्,’ नेता थापाले भने, ‘तर, निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण हामीले परिकल्पना गरेको राजसंस्था राजनीतिभन्दा माथि उठेको छ।’
अब आफू नयाँ पार्टीको कार्यदिशा बनाउन लागेकाले फागुन पहिलो साताभित्र पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिने उनले बताए। ‘पार्टी र नेता असफल भए भन्दैमा राजा आएर शासन गर्ने होइन,’ उनले भने, ‘मैले राजा र राजाको सचिवालयलाई सम्झाउन सकिँन। अब जनतासामू गएर कसरी राजाको पक्षमा भोट माग्ने?’ हिजोको दिनमा हिन्दुराष्ट्रको एजेण्डा कमजोर हुनुमा राजसंस्थाको एजेण्डा कारणको रूपमा रहेको उनको आरोप थियो। उनले राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनमा दोहोरो चरित्र र केटाकेटीपन समेत रहेको आरोप लगाए। राजधानीदैनिकबाट