विकल्प आर्टले एक महिने बृहत् कला प्रदर्शनी गर्दै

काठमाडौं - ललितपुरको पुल्चोकस्थित ‘विकल्प आर्ट सेन्टर’ ले एक महिने बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ। सहकार्यात्मक कला परियोजनाअन्तर्गत सेन्टरले ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा प्रदर्शनी गर्न लागिएको हो।

कला प्रदर्शनी यही वैशाख १४ देखि जेठ १० गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा आयोजना हुने कार्यक्रम संयोजक सरोज महतोले जानकारी दिए। ललितपुरको पुलचोकमा १४ गते उद्घाटन भएपछि उपत्यकाका अन्य तीन ठाउँमा पनि प्रदर्शनी सञ्चालन हुने उनले जानकारी दिए। कलाका विभिन्न माध्यमको प्रयोग गरी सन् १९५० यता नेपालमा विकास भएका कलाको परिदृश्य र त्यसका विशेषतालाई प्रदर्शनीमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ। प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीको मुख्य उद्देश्य नेपालको कला परिदृश्यको इतिहासदेखि वर्तमानसम्मको संस्कृतिको अवलोकन गर्नु र यसलाई बहसको स्तरमा ल्याउनु हो। इतिहासलाई पुनरावृत्तिमात्रै गर्ने नभएर हाम्रो कला परम्परा र संस्कृतिबाट प्रेरणा लिने अवस्थाको सिर्जना गर्नु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक विषयमा ४५ कलाकारका पश्चिमा र पूर्वीय कलात्मक संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयका सिर्जना प्रदर्शनीमा रहनेछ। आयोजकका अनुसार विगत र वर्तमानमा संस्कृतिको प्रभाव आधुनिक कला संस्कृतिमा कस्तो रहेको छ भन्ने मूल्यांकनको आधार मानिएको उक्त प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कलाकृति र स्थानीय संस्कृतिसँग त्यसको सम्बन्ध, पहिचानका मुद्दालगायतका विषय समेटिएको छ। प्रदर्शनीका क्रममा कलाकृतिको अवलोकनसँगै कला संस्कृति र सम्बन्धित विषयमा बहस, कार्यशाला र विभिन्न किसिमका प्रस्तुति समावेश गरिएको छ।

त्यसमा वर्तमान नेपाली कला संस्कृति र परिदृश्यको सचित्र वर्णन गरिने जनाइएको छ। प्रदर्शनीमा अग्रज कलाकारका चित्रकला र स्केच तथा न्यू मिडियाको माध्यमबाट प्रस्तुत हुने पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका कलात्मक सिर्जना रहनेछ। क्यान्भास र ग्यालरीभन्दा बृहतरूपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमबाट प्रस्तुत गरिने संयोजक महतोले जानकारी दिए। प्रदर्शनीमा राखिने सबै कला सिर्जनाहरू सन् १९५० को दशकपश्चात नेपालमा विस्तार भएको कला क्षेत्र र यसमा प्रभाव पारेका विभिन्न माध्यममा केन्द्रित रहने जनाइएको छ। प्रदर्शनीमा सहभागी कलाकार विगतको कला, संस्कृतिको अध्ययन र समसायिक कला संस्कृतिलाई अनुशरण गरेर अहिलेको कला क्षेत्रमा सक्रिय छन्।

उनीहरु यसअघिका जानेका र सुनेका नियमभन्दा बाहिर आफ्नो अन्तर्मनको आवाजमार्फत छुट्टै कलात्मक यात्राको विकास गरिरहेका कलाकार हुन्। सहरमा सजाएर राखिएका यी सांस्कृतिक गौरव सम्झनामा आउँछन्। विभिन्न सहरमा भएका विभिन्न संस्कृति, सम्पदास्थल, सांस्कृतिक पूर्वाधार, वास्तुकलाले तिनीहरुलाई जीवन्त तुल्याएका छन्। विगत र वर्तमानका यी सिर्जनाले नेपालको समृद्ध कला परिदृश्यलाई वर्णन गर्छ। नेपाली समुदायमा भएका मौलिक संस्कृति र यसका आधारले गौरवशाली महसुस गराउँदै आएको छ। त्यस्ता कलाले नेपालको विगतको कथा भन्ने मात्रै नभएर वर्तमानको अवस्थालाई पनि अभिलेखीकरण गरिरहेका छन्।

नेपाली कला परम्परा विश्वव्यापि प्रभावको परिणाममा मात्रै सीमित नभएर हाम्रो साझा राष्ट्रिय इतिहास र पहिचानको विषय हो। त्यसैले, प्रदर्शनी आयोजना गर्नुका पछाडि मुलुकको कला संस्कृतिमा भएका बहुआयामिक विशेषताका कारण सामाजिक, राजनीतिक परिवेश, जीवनशैली, मूल्य, मान्यतादेखि प्रभाव पार्ने तत्वको सुक्ष्म अध्ययन र अवलोकन गर्नु रहेको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×