काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन्। उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए। यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ।
नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउने भन्ने चाहना सरकारको रहेको स्पष्ट पारे।
२०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो। उनले संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महत्त्वपूर्ण हुने चर्चासमेत गरे। संस्थानले आफ्नो सेवालाई मुलुकभर विस्तार गर्नुपर्ने बताउँदै उनले यसका लागि तत्काल सर्वेक्षण (सर्वे) कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशनसमेत दिए।
सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे। अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ। दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी स्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ। गोरखापत्र दैनिकबाट