काठमाडौँ - तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो।
पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित गरेको छ। नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो। उपाधिसँगै पुलिसले रु. एक लाख र उपविजेता लुम्बिनीले रु. ५० हजार नगद प्राप्त गरेका छन्। सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए।
प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउएका छन्। उनले भने, “रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ।”
सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरेका छन्।