काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो। मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो। चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो। गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो।
यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।