पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ। पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माएकी छिन्।
छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो।
स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन। छ हजार मेगावाट बिजुली निकाल्ने सपना बोकेको महाकालीबाट पानी तान्न मोटर चलाउने बिजुली नहुँदा तीन पालिका टाढाबाट ट्याङ्करमा पानी ल्याउनुपरेको बताइएको छ।
पञ्चेश्वर गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीले पानी अभावमा जेठ २८ गतेदेखि प्रसूति सेवा बन्द गरेको थियो। त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएपछि चौतर्फी दबाब सिर्जना भई पञ्चेश्वर गाउँपालिकाले ट्याङ्करबाट पानी ल्याएर शनिबार साँझ ७ः१५ बजेदेखि प्रसूति सेवा सुचारु गरेको हो।
स्वास्थ्य चौकीको आँगनबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि प्रसूति भएका महिलाले पाइप छोएमा मुहान सुक्ने स्थानीयको अन्धविश्वासका कारण पानी नपाउँदा स्वास्थ्य चौकीले प्रसूति सेवा बन्द गरेको थियो। पाइपबाट पानी अझै नपाए पनि गाउँपालिकाले ट्याङ्करबाट पानी दिएपछि शनिबार साँझदेखि प्रसूति सेवा सुचारु भएको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए।
संयोगले प्रसूति सेवा नियमित गर्न पानी पुगेकै दिन राति १२ बजे पञ्चेश्वरकी लक्ष्मी धामीले स्वास्थ्य चौकीमा शिशु जन्माएको अनमी निर्मला लावडले बताए। राति १२ बजे उठेर सुत्केरी महिलालाई सेवा दिएको उनले बताए।
पञ्चेश्वर स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिस घण्टा पानी आउँछ। बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई नदिएको स्वास्थ्य चौकीले जनाएको छ।
बस्ती र मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन गाउँपालिकाले सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ। खानेपानी कार्यालयलाई प्राविधिक पठाइदिन अनुरोध गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।
गोरखापत्र दैनिकबाट