काठमाडौँ - देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको समेत सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।