काठमाडौँ - काठमाडौँमा जारी छैटौँ महिला साफ च्याम्पियनसिप-२०२२ अन्तर्गत समूह ‘ए’को आफ्नो दोस्रो खेलमा भारतले माल्दिभ्सलाई फराकिलोगोल अन्तरले पराजित गरेसँगै भारत र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्।
भारतले शनिबार माल्दिभ्समाथि ९-० गोल अन्तरको जित निकालेसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो। दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा भारतले एकतर्फी जित निकाल्ने क्रममा अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गर्दा डाइमेइङ ग्रेसले २ गोल गरेकी थिइन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले समान १-१ गोल गरेका थिए।
पहिलो हाफमा ३-० को अग्रता बनाएको भारतले दोस्रो हाफमा थप ६ गोल गरेको थियो। यसअघि शनिबार भएको सोही समूहको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६-० ले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो।
भारतको जितसँगै बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरेको हो।