काठमाडौँ - शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन्। यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र दुई बलिउड फिल्म ‘उचाइ’ र ‘रामसेतु’ रिलिज भएका छन्। यो साता स्वदेशी फिल्म भने रिलिज भएनन्।
ब्लकबस्टर फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ मार्भल स्टुडियोको हलिउड सुपरहिरो फिल्म हो। रायन कुगलर निर्देशित फिल्ममा लेटिटिया राइट, लुपिता नोयोगो लगायतको प्रमुख भूमिका रहेको छ।
राजा टिचाल्लाको निधनपछि वैदेशिक शक्तिको हस्तक्षेपबाट जोगाउन रानी र उनका अन्य सदस्यले मुलुकलाई जोगाउन गर्ने संघर्षको वरपर फिल्म घुमेको छ। अभिनेता चाडविक बोसम्यानको निधनको कारण पनि यो फिल्म प्रतीक्षित छ।
सुपरहिरोको कथा रुचाउने दर्शक र पारिवारिक कथावस्तु हेर्ने दर्शकलाई यो फिल्म रुचिकर हुनसक्छ। विश्वभर रिलिज भएको फिल्मले नेपालमा शुक्रबार आक्रामक ओपनिङ गर्ने अपेक्षा गरेको छ।
शुक्रबारै बलिउड ब्यानर राजश्री प्रोडक्सनको मल्टिस्टारर फिल्म उचाइ पनि नेपालमा रिलिज भएको छ। सुरज वर्जत्य निर्देशित फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको प्रमुख भूमिका रहेको छ। मित्रताको कथा पेस गर्ने फिल्मको छायांकन नेपालको सगरमाथा आधार शिविर र मनाङमा छायांकन गरिएको छ। नेपालको दृश्य समावेश भएकाले पनि नेपाली दर्शकलाई फिल्म प्रिय लाग्न सक्छ।
शुक्रबारै हिन्दी फिल्म रामसेतु पनि रिलिज भएको छ। अक्षयकुमार स्टारर फिल्मले रामायणकालीन रामसेतुको कथा भन्छ। फिल्ममा अक्षयकुमार र ज्याकलिन फर्नान्डिजको प्रमुख भूमिका रहेको छ।