काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन्।
आज बुधबार चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले महाधिवेशन सफल भएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा एमाले स्थापित बन्ने बताएका छन्। उनले भनेका छन्, “यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, हामी एकजुट भएका छौँ।” महाधिवेशनले एउटा राम्रो सन्देश पनि दिन सकेको जनाउँदै उनले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताएका हुन्। 'निरङ्कुशताविरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन एमाले महाधिवेशन सफल भएको छ', नेम्वाङले भनेका छन्।
एमालेलाई जनताको समर्थन उत्तिकै रहेछ भन्ने कुरासमेत यस महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उनले यसैका आधारमा अघि बढ्ने बताए। उनले भने, “सन्तुष्टि सयमा सय कहिल्यै हुँदैन, तर समग्रमा म सन्तुष्ट छु।” विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन्? सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उनले भने, 'हामीले सफल बनाएर देखाएका छौँ। हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो। तर, अहिले सफलतापूर्वक यो सम्पन्न भयो।”
निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रूपमा लिइने बताउँदै पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उनको भनाइ छ।