काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ।
उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने भएको हो। त्यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् लिइरहेका छन्। एक सय ३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो हुनेछ।
उद्योगले आफ्नो परिसरमा सबस्टेशन भने आफैँले निर्माण गर्नुपर्नेछ। महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकाले त्यसको तुलनामा सबस्टेशन निर्माण महङ्गो पर्दैन। प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा दुई हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरीया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायत विषयमा जानकारी लिएको छ।
कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकाले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए। घिसिङले वीरगञ्ज, पोखरीया र शुख्खाबन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको उल्लेख गरेका छन्।