एपीएफले जित्यो ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौँ - नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ। एपीएफले सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि हासिल गरेको हो। यो विभागीय टिमको लगातार दोस्रो उपाधि पनि हो। यो सँगै एपीएफले २ लाख नगद पनि प्राप्त गर्यो। त्यस्तै सुदूरपश्चिमले १ लाख नगद हासिल गरेको छ।

सुदूरपश्चिम टिमले १ सय १४ रनको विजयी लक्ष्य तेस्र्याएको थियो। अनुभवी खेलाडी समिटिएको एपीएफको लागि यो लक्ष्य सामान्य नै रह्यो। टिमले १५.५ ओभरमा केवल २ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सफल भयो। टिमलाई विजयी बनाउन ओपनर ब्याटर ज्योति पाण्डेले सर्वाधिक ४३ रन जोडिन्। उनले कप्तान सीता रानामगरसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेकी थिइन्। जसमा सीताले १९ रनको योगदान दिइन्।

यसपछि ज्योति इन्दु बर्मासँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै आउट भइन्। उनी आउट हुँदा टिमले जित हासिल गर्न केवल १७ रनको आवश्यक थियो। इन्दुले जितको औपचारिकता पुरा गरिन्। उनी २९ रनमा नटआउट रहिन् भने रोमा थापा ५ रनमा नटआउट रहिन्। इन्दुले एक छक्का प्रहार गरेको एपीएफको ब्याटिङमा एक मात्र छक्का थियो। सुदूरकी लक्ष्मी साउद र सम्झना खड्काले १–१ विकेट लिएका थिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो। टिमको लागि विन्दु रावलले सर्वाधिक ३७ रन जोडिन्। पहिलो विकेटको लागि ओपनर विन्दु र रेवती धामीले ४८ रनको साझेदारी गरेका थिए। जसमा रेवतीको योगदान १० रन थियो।

विन्दु आउट भएपछि डली भट्ट र कविता कुँवरले सानदार ब्याटिङ गरे। उनीहरूले तेस्रो विकेटको लागि महत्त्वपूर्ण ५२ रनको साझेदारी गरेका थिए। डलीले ३६ रन जोडेकी थिइन् भने कविता २४ रनमा नटआउट रहिन्। एपीएफकी सुष्मा श्रेष्ठले २ विकेट लिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×