कौरको शतकमा इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित

काठमाडौँ - इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतीय महिला क्रिकेट टोलीले एक खेल अगावै जितेको छ। गएराति सम्पन्न खेलमा इंग्ल्याण्डलाई ८८ रनले हराउँदै भारतले एक खेल अगावै सिरिज जितेको हो।

दोस्रो खेलमा भारतले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले ४४.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन मात्र बनायो। उसका लागि ड्यानी व्याटले सर्वाधिक ६६, एलिस क्याप्सी, कप्तान एमी जोन्सले ३९/३९, चार्ली डीनले ३७ रन बनाएका थिए।

बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकिनन्। भारतका लागि रेणुका सिंहले ४, दयालन हेम्लताले २, शेफाली बर्मा र दिप्ती शर्माले १/१ विकेट लिएका थिए।

त्यसअघि क्यान्टरबरीस्थित सेन्ट लरेन्स ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो। उसका लागि कप्तान हरमनप्रीत कौरले शतकीय पारी खेलेकी थिइन्। १११ बलको सामना गरेका उनले ४ छक्का र १८ चौकाको मद्दतमा अविजित १४३ रन बनाएकी थिइन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा कौरको यो पाँचौं शतकीय पारी हो। हरलिन देवलले ५८, स्मृति मान्धनाले ४०, यास्तिका भाटियाले २६, पूजा वस्त्रकारले १८ र दिप्ती शर्माले अविजित १५ रन बनाएका थिए।

इंग्ल्याण्डका लागि केट क्रससहित ५ बलरले १/१ विकेट लिएका थिए। सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो। भारत-इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×