नेपालगञ्जमा दिगो विकास लक्ष्यको स्थानीयकरण

काठमाडौँ - नेपालगञ्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ। 

दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख उमाथापा मगरले जानकारी दिइन्। उनले यसबाट आगामी पाँच वर्षका लागि राम्रो आधार तय भएको जनाउँदै दिगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएकाले कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताएकी छन्। नेपालगञ्जमा जिआइजेड-सिडिएसजीको सहयोगमा दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास भइरहेको छ।

अहिलेसम्म तथ्याङ्कको अभावमा अन्यौलताका बीचमा काम गर्नुपरेको अवस्थामा पनि नगरमा धेरै सुधार भएको कार्यवाहक नगरप्रमुख थापा मगरको भनाइ छ। उपमहानगरपालिकाले १७ सूचकमध्ये लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहर एवं मानववस्तीलाई समावेशी, सुरक्षित उत्थानशील र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाइका अवसर प्रवर्द्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक वृद्धि पूर्णता, उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवर्द्धन गर्ने सूचकलाई प्राथमिकतामा राखेको छ। 

उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन् २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धिका विषयमा प्रस्तुतीकरण भएको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिए। उनले दिगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×