काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २.३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ। निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ। एकजना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ। १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ।