काठमाडौँ - नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन्।
पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो। यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो। वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
मुद्दा हारेपछि सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको राजीनामा सोमबारदेखि लागु भएको छ।