पर्यटन पुनरुत्थानका लागि ‘फेवा नववर्ष महोत्सव’

काठमाडौँ -  नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको होटल सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए। कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो।

नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ। महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइटमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ। 

महोत्सवको अवसरमा सङ्घले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि सङ्घले हालै बुटवल, हेटौँडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो। महोत्सवको अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग वियर मुख्य प्रायोजक रहेको छ। पोखरा पर्यटन परिषद्लगायत अन्य छभन्दा बढी सङ्घसंस्थाले महोत्सवलाई सहयोग गर्नेछन्। महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ।

कूल रु. ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजकको दाबी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×