मुस्ताङ - पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ।
मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। मुस्ताङको कोबाङनजिकै विमान दुर्घटना भएको आशंका गरिएको छ। उक्त क्षेत्रको मौसम खराब हुँदा हेलिकप्टर समेत जान सकेको छैन।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरितर्फ मोडिएको थियो। त्यसपछि विमान सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
घोडेपानी क्षेत्रबाट १०:०७ मा अन्तिमपटक सम्पर्क भएको विमानमा चालक दलका सदस्यसहित १६ नेपाली र ६ विदेशी सवार रहेका थिए।