काठमाडौँ - ताप्लेजुङका याङमा र घुन्सा क्षेत्रका समुदायको प्रमुख खेतीको लागि पुस्तौँदेखि आलु खेती गर्दै आएका छन्।
पुस्तौंदेखि खेती नै गरिरहेको भए पनि आफूले कुन जातको आलुखेती गर्दै आएको हो भन्ने आफूले थाहा नभएको घुन्साको किसान पेमा शेर्पाले बताए। उनले भने, “हामीले पहिलेदेखि खेती गरेको आलु रातो र सरकारी आलु (सेतो) आलु र पछि एक जनाले सोलुखुम्बु जिल्लाबाट एक पाथी आलुको बीउ ल्याएको थियो। आहिले त्यस आलुलाई सोलु आलु भन्ने गरेको छ।” स्थानीय आफैले राखेको नाम हो रातो आलु, सेतो आलु र सोलुसुम्बु जिल्लाबाट ल्याएको सोलु आलु भनेर नामकरण गरेको स्थानीय भनाइ रहेको छ।
दुई वर्षदेखि निरन्तर आलु उत्पादन ह्रास आइरहेको छ तर के कारणले याङमा क्षेत्र र घुन्सा क्षेत्रमा उत्पादनमा ह्रास आएको हो पहिचान हुन नसकेको स्थानीय शेर्पाले बताए। स्थानीय तहमै कृषि प्रविधिक पर्याप्त भए पनि अहिलेसम्म के कारणले आलु उत्पादनमा ह्रास आएको हो चासो दिएको स्थानीयको भनाइ रहेको छ। आलु बीउको भण्डारणको रूपमा रहेको याङमा र घुन्सा क्षेत्रमा स्थानीय सरकारले पनि कुनै योजना र चासो नदिएको स्थानीयको गुनासो छ। फक्ताङलुङ गाउँपालिकाभित्र कुनकुन जातको आलु खेती हुँदै आएको छ, र कति परिमाणमा आलु उत्पादन हुन्छ भन्ने तथ्याङ्क नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रशान्त शर्माले बताए।
शर्माका अनुसार आलु उत्पादनको तथ्याङ्क सङ्कलनका लागि बजेट विनियोजन भएको छ तर तथ्याङ्क सङ्कलन गर्ने काम बाँकी छ।