अभिनेत्री सुस्मिता सेन बनिन् 'ट्रान्सवुमन'

काठमाडौँ - बलिउड अभिनेत्री सुस्मिता सेन 'ट्रान्सवुमन' बनेकी छिन्। उनी आफ्नो आगामी फिल्म 'ताली' का लागि ट्रान्सवुमन (पारलैंगिक) महिलाको भूमिकामा देखिन लागेकी हुन्।

सुस्मिताले आफ्नो इन्स्टाग्राम खातामा 'ताली' मा आफ्नो लुक्सको तस्बिर सार्वजनिक गरेकी छिन्। सुस्मिताको यो फिल्म पारलैंगिक महिला गौरी सावन्तको जीवनीमा आधारित छ।

मुम्बईकी पारलैंगिक अभियन्ता गौरी सावन्त 'कौन बनेगा करोडपति' को सिजन ९ मा पनि देखिएकी थिइन्। उनी त्यहाँ गायिका उषा उथुपको सहयोगमा पुगेकी थिइन्। यौन पेसाकर्मीहरूका लागि घर बनाइदिन आर्थिक सहयोग गर्ने उद्देश्यले गौरी उक्त कार्यक्रममा सहभागी भएकी भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

गौरी सावन्तले 'भिक्स' को विज्ञापनमा पनि खेलिसकेकी छिन्। सन् १९९४ की मिस युनिभर्स विजेता सुस्मिताले सामाजिक सञ्जालमा फोटो राख्दै लेखेकी छन्, 'ताली- बजाउँदिनँ, बजाउन लगाउँछु। गौरी सावन्त जस्तो सुन्दर व्यक्तिको भूमिका निर्वाह गर्न पाउनु र उनको जीवन दुनियाँलाई देखाउन पाउनुमा मलाई एकदमै गर्व लागेको छ। म आभारी छु।'

गौरी सावन्त
सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।

आफ्नो लामो करिअरमा उनका यादगार सिनेमा खासै छैनन्। यसबीच पछिल्लो १० वर्ष उनी बलिउडबाट पूरै हराइन्। आफ्नो स्वास्थ्य उपचार र २ जना छोरीको लालनपालनमै व्यस्त भएकाले करिअरबाट विश्राम लिएको उनले बताएकी छिन्। १० वर्षपछि उनले गत वर्ष डिज्ने स्टारको वेबसिरिज 'आर्या' मार्फत् कमब्याक गरेकी छिन्। यो वेबसिरिजको दोस्रो संस्करण पनि रिलिज भइसकेको छ।

'आर्या' को पहिलो संस्करणबाट सुस्मिता सेनले थुप्रै अवार्डहरू पनि जितेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×