हुम्ला - उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो। सदरमुकाम सिमकोटमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ भने आवतजावतमा समस्या भएको छ। हिमपातले सदरमुकामवासीलाई समेत समस्या बनाएको छ।
आज शुक्रबार पनि निरन्तर हिमपात हुँदा वृद्ववृद्वा, बालबालिकालाई चिसोले सकस बनाएको छ। दुई दिन लगातार हिमपात हुँदा हवाई सेवासमेत अवरुद्ध भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। बाक्लो हिउँ जम्दा एक गाउँबाट अर्को गाउँसम्म जान पनि कठिनाइ बनाएको छ।
यस्तै उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । उत्तरी भेगमा झन्डै पाँच फिटसम्म हिउँ जमेको छ। यारी, मुचु, हिल्सा, लिमी, न्यालु, ताङ्गिन लगायतका गाउँमा बाक्लो हिउँ जमेको छ भने निरन्तर हिमपात भइरहेको छ। यस्तै बिहीबार साँझदेखि विद्युत् सेवासमेत अवरुद्ध बनेको छ। इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। सिमकोटमा बाक्लो हिउँ जम्दा थप समस्या बनाएको छ।