म्याग्दीमा प्राविधिक शिक्षाप्रति आकर्षण

म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि विद्यालय पोसाकमै किसानको खेतबारीमा पुगेर किसानलाई खेतीपातीका कुरा सिकाइरहेका छन्।

कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यले  खेतबारीमा प्रयोगात्मक अध्ययन गर्दै गरेका बाली विज्ञानका विद्यार्थीले किसानलाई व्यावसायिक कृषि भनेको केहो? वैज्ञानिक खेती प्रणालीको विकास कसरी गर्ने? उन्नत मल बीऊको प्रयोगले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ भन्नेलगायतका कुरा सिकाउँदै र उनीहरुका अनुभव सुन्दै अध्ययन गरिरहेका भेटिन्छन्। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए। कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्।

“कृषि पढ्ने विद्यार्थीलाई अभ्यास गराउने क्रममा किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउँदै आएका छौँ”, शिक्षालयका प्रमुख कँडेलले भने, “हाम्रो आफ्नै कृषि फर्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौँ।” “हामी यही विषय पढ्दै आएका छौँ। किसानसँगै खेतमा काम गर्दा धेरै ज्ञान पनि पाइँदोरहेछ” बाली विज्ञानको दोस्रो सेमिष्टरमा अध्ययनरत छात्रा सोविता बुढाले बताइन्। कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाईसमेत दिन थालेका छन्। विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए।

किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×