काठमाडौँ - दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। खेल नेपाली समय अनुसार ७ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ। ३ टि-२० आई खेलको सिरिज १-१ को बराबरीमा छ। पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो।
इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन अली उच्च लयमा रहेका छन्। पहिलो खेलमा जोनी बेयरस्टाले ५३ बलमा ८ छक्का र ३ चौकासहित कुल ९० र मोईन अलीले १८ बलमा ५२ रन जोडेका थिए।
यी २ ब्याटर बाहेक अन्यले राम्रो गर्न सकेका छैनन्। ओपनर तथा कप्तान जस बटलर सुरुवात राम्रो दिएपनि ठूलो इनिङ खेल्न सकेका छैनन्। अर्का ओपनर जेसन रोय लगातार संघर्ष गर्दै आएका छन्। रोयको स्थानमा इंग्ल्यान्डले फिलिप साल्टलाई मौका दिनसक्छ।
प्रमुख ब्याटर डेविड मलान र लियाम लिभिङस्टोनबाट इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शन चाहन्छ। लिभिङस्टोन ठूला सटका लागि चर्चित छन्। इंग्ल्यान्डको तीव्र गतिको बलिङ कमजोर रहेको छ। रिस टोप्ली, क्रिस जोर्डन, साम करन र रिचर्ड ग्लेसन छन्। करन र ग्लेसन मध्य एकलाई बेन्चमा राखेर डेविड विल्लीलाई आज मैदान उतार्न सक्छ। स्पिनरमा मोईन अली र आदिल राशिद हुनेछन्।
यता दक्षिण अफ्रिकाका ओपनर रिजा हेनड्रिक्सले दुबै खेलमा अर्धशतक हानेका थिए। राइली रोसोले ९६ रनको अविजित इनिङ खेल्दै दोस्रो खेलमा जित दिलाएका थिए। अनुभवी खेलाडी रोसो र लयमा रहेका हेनड्रिक्सको प्रदर्शन महत्वपूर्ण हुनेछ। ओपनर क्विन्टन डि कक र कप्तान डेविड मिलरबाट उच्च प्रदर्शन चाहन्छ।
युवा स्टार ट्रिस्टन स्टब्सले पहिलो खेलमा ८ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए। स्टब्स घातक बन्नसक्छन्। हेनरिक क्लासेनको स्थानमा रास्सी भान डर डुसेनलाई मैदान उतार्न सक्छ।
एन्डिलो फेहवकुवलोको स्थानमा एनरिच नोर्कियालाई मौका दिनसक्छ। कागिसो रबाडा, लुन्गी एनगिडी र एनरिच नोर्किया तीव्र गतिका बलिङ हतियार हुनेछन्। केशव महाराजको स्थानमा ड्वेन प्रिटोरियसले मौका पाउनसक्छन्। स्पिनरमा तबरेज शाम्सीले निरन्तरता पाउनेछन्।
यस खेलपछि यी २ देशबीच ३ टेस्ट खेलको सिरिज हुनेछ।