काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथ राइट्स आर्केड नामक मोबाइल गेम एप सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा यस वर्ष एम्नेस्टी इन्टरनेसनलले पछिल्लो पुस्ताका मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूका बारेमा शिक्षित गर्ने उद्देश्यका साथ ‘राइट्स आर्केड’ नामक एउटा निःशुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक गरेको हो ।
कार्यगत शिक्षामार्फत मानवअधिकार अभियानलाई सुदृढ गर्नका लागि एप विकास गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए । उनले एपमा भएका गेमहरूले प्रयोगकर्ताको मानवअधिकारसम्बन्धी ज्ञानलाई बढाउने र उनीहरूलाई मानवअधिकारका सवालमा ‘एक्सन’ लिनका लागि प्रोत्साहित गर्ने बताए ।
उक्त एपको प्रमुख विशेषता भनेको यसको स्वनियन्त्रित पद्धति हो जसले प्रयोगकर्ताहरूलाई गेममा भएको कथाहरूमार्फत आफ्नै गतिमा मानवअधिकारबारे सिक्ने, समीक्षा गर्ने र अभियानात्मक गतिविधिहरू सञ्चालन गर्ने वा त्यसमा सहभागी हुने अवसर प्रदान गर्दछ । विश्वभरका मानिसहरूले हाल चार भाषाहरू अङ्ग्रेजी, सरलीकृत चिनियाँ, थाई र कोरियनमा ती गेमहरूको सङ्ग्रह प्रयोग गर्न सकिने उल्लेख छ । आउने महिना र वर्षहरूमा नयाँ गेमहरूसँगै राइट्स आर्केडलाई नियमितरूपमा थप भाषाहरूमा सिक्न सकिने बनाउनका लागि समायोजन र अद्यावधिक गरिने बताइएको छ ।