काठमाडौँ - ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ। निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत फिल्मको नेपाल, भारत र विश्वव्यापी कमाइलाई बाहिर ल्याएका छन्।
उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ। २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीबार ५३ लाख रुपैयाँ कमाइ गरेको जनाएका छन्।
भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन्। ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाइ ६.२१ करोड भारु रहेको समेत निर्माता सेनले जनाएका छन्।
फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वव्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन्। फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वव्यापी आक्रामक ओपनिङ गरेको थियो।