आइपिएलको मिनी अक्सन आज, ४०५ खेलाडीमा लाग्नेछ बोली

काठमाडौँ - १६ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सन आज हुँदैछ। अक्सन केरलामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ।

आइपिएलका १० टोलीले घरेलु तथा अन्तर्राष्ट्रिय गरी ४ सय ५ खेलाडीमा बोली लगाउने छन्। टोलीहरूमा कुल ८७ खेलाडीको लागि ठाउँ खाली छ। गत आइपिएलअघि मेगा अक्सन भएकाले यसपटक मिनी अक्सन हुन लागेको हो।

गत संस्करणमा २ नयाँ टोली लखनऊ सुपरजायन्ट्स र गुजरात टाइटन्स थपिएका थिए। जसकारण सबै टोलीलाई समान अवसर दिन २ दिने मेगा लिलामी भएको थियो। यसपटक भने अक्सन १ दिन मात्र ​हुनेछ। मेगा अक्सनअघि टोलीले ३/३ खेलाडी मात्रै राख्न पाएका थिए। त्यसपछि १० टोलीलाई २२० खेलाडी आवश्यक परेका थिए। तर, यसपटक लिलामीअघि टोलीले धेरै खेलाडीलाई रिटेन गरिसकेका छन। यस्तो अवस्थामा १० टोलीलाई ८७ खेलाडी मात्र आवश्यक परेको छ।

गत संस्करण भएको मेगा अक्सनका लागि १ टोलीलाई ९० करोडसम्म खर्च गर्न पाउने नियम थियो। यसपटक ५ करोड भारु बढाइएको छ। अर्थात् २५ खेलाडीको टिम बनाउन टोलीले बढीमा ९५ करोड रुपैयाँ खर्च गर्न सक्नेछन्।

आइपिएलमा सबै टिमले १८ देखि २५ खेलाडी टिममा राख्न पाउँछन्। यसमा बढीमा ८ विदेशी खेलाडी हुने छन्। आगामी सिजनका लागि सनराइजर्स हैदरावाद (१३), कोलकाता नाइट राइडर्स (११) र लखनऊ सुपर जायन्ट्स (१०) लाई सबैभन्दा बढी खेलाडी आवश्यक परेको छ।

मिनी अक्सनका लागि सबैभन्दा कम रकम कोलकाता (७.०५ करोड) सँग बचेको छ। उसले आफ्नो टोली पूरा गर्न यो रकममा कम्तीमा ४ खेलाडी किन्नुपर्ने हुन्छ। त्यस्तै, मिनी अक्सनका लागि सबैभन्दा बढी हैदराबाद (४२.२५ करोड) सँग रकम बचेको छ। त्यस्तै, रोयल च्यालेन्जर्स बैंगलोरसँग ८.७५ करोड मात्रै छ।

यसपटकको मिनी अक्सनका लागि ९९१ खेलाडीले दर्ता गरेका थिए। जसमा ७१४ भारतीय र २७७ विदेशी खेलाडी थिए। सबै ९९१ खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो। ९९१ मध्ये ४०५ खेलाडीको नाम मात्र अक्सनमा देख्न पाइनेछ। यीमध्ये २७३ भारतीय र १३२ विदेशी खेलाडी रहेका छन्।

विदेशी खेलाडीमध्ये ४ जना एसोसिएट देशका पनि छन्। जसमध्ये १२३ अन्तर्राष्ट्रिय र २८२ अनक्याप्ड (अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न बाँकी) खेलाडी छन्। यसपटक नेपालबाट भने कुनै पनि खेलाडी अक्सनमा छैनन्।

१६ औं संस्करणको आइपिएलमा कुल ७४ म्याच खेलाइनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार आगामी आइपिएल संस्करण मार्चको तेस्रो साता सुरु भएर मे महिनाको अन्त्यमा सकिनेछ।

गत सिजनको आइपिएल २५ मार्चबाट सुरु भएर २९ मेमा सकिएको थियो। १५ औं संस्करणको आइपिएल उपाधि गुजरात टाइटन्सले जितेको थियो।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×