मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

धनगढी - ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो। खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे। हिमालयनका उलिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे। विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके।

पेनाल्टी अघि खेलको २८औँ मिनेटमा शिशिर लेखिले हेडरमार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। तर खेलको ८०औँ मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। 

अब उपाधिका लागि मनाङले फागुन २८ गते बागमती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ। आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेता टोलीले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। 

सर्वोत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद रु २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले रु १० हजार प्राप्त गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×