काठमाडौँ । बागलुङस्थित बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ।
नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो। नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागू गर्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले पाठ्यक्रम नगरका सबै विद्यालयमा पठाउने तयारी गरेको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए। “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थानुसार आफ्नै पाठ्यक्रम तयार पारेको हो, अब त्यसै आधारमा पाठ्यपुस्तक निर्माण गरिनेछ”, उनले भने, “बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयमा लागू गर्ने अभिप्रायले पाठ्क्रम विकास गरिएको हो, जसकारण नगरपालिकाको पेशा, व्यवसाय, मूल्य, मान्यता, कला र संस्कृतिको पहिचान र तिनको संरक्षण र संवर्द्धन गर्ने कार्यलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।”
नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा रु तीन लाख विनियोजन गरेको र त्यही बजेटबाट पाठ्यक्रम तयार गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए। “नगरभित्रका विद्यार्थीलाई बागलुङ नगरपालिकाको भूगोल, पर्यटन, संस्कृति र वातावरणलगायतको विषयमा जानकारी हुन आवश्यक छ”, उनले भने, “आफ्नो मतृभूमिका बारेमा जानकारी लिई यसको विकास गर्ने भावना जगाउन पाठ्यक्रमले सहयोग गर्नेछ, यसैका आधारमा शिक्षण क्रियाकलाप तथा पाठ्यपुस्तक बनाएर अध्यापन गराउन जरुरी छ।”