काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफूले कसैलाई आरोप नलगाएको बताएका हुन् ।
उनले भनेका छन–
शैली त मेरो त्यस्तै उस्तै हो । भनेको चाहिँ के भने–
१) मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचार पनि त आएका छन् नि भनेर केही समाचारहरु सदनमा पढीवाची सुनाएको ।
२) हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ–छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौं ।
सार चाहिँ यति नै हो, समाचार त के–के आयो आयो !!!