काठमाडौँ - शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३-१ को सेटमा हराउँदै जोकोभिच आठौँ पटक विम्बल्डनको फाइनलमा पुगेका हुन्।
जोकोभिचले पहिलो सेट ६-२ ले गुमाएका थिए तर त्यसपछिका तीन सेट ६-३, ६-२ र ६-४ ले आफ्नो पक्षमा पारे। ३५ वर्षीय जोकोभिच २१ औँपटक ग्रान्डस्लामको जित नजिक पुगेका हुन्।
जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन्। जोकोभिचले अब उपाधिको लागि अष्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछन्। राफायल नाडालले चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनल पुगेका हुन्।