भक्तपुर - स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियू सेवा आइतबारदेखि सुरू हुने भएको छ।
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियू सञ्चालनमा ल्याउन सफल भएको बताइन्। ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ,’ उनले भनिन्।
आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी दिइन्। अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ।
मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियू अरु बिरामीका लागि प्रयोग भइरहेको छ।
आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियू सञ्चालन हुनेछ। ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ,’ उनले भनिन्।
नेपालमा कोरोनाको पहिलो लहर सुरू भएपछि भक्तपुर अस्पतालमा डा गौतमले ६ शय्याको आइसियु सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरू गरेकी थिइन्। अस्पतालले अक्सिजनसमेत उत्पादन सुरू गरेको छ। अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरू गर्नेछ।