काठमाडौँ - बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ । यसअघि पटक–पटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो।
बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको उनको भनाइ छ। उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्नेछ।
नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको बैठक यसअघि पटकपटक मिति तय भए पनि बस्न सकेको थिएन। यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।
प्रदेशसभामा हाल १०९सदस्य छन्। तीमध्ये नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन्।