काठमाडौँ - आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ। शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो। एडिलेटमा अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाएका थिए। त्यस्तै गुल्बादिन नाइबले ३९ रन बनाउदा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे। अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो। अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाएका थिए।
अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए। फजलहक फारुकीले २ विकेट लिए। जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।
समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अफगानिस्तान ५ खेलमा २ अंक जोडेर पुछारमा छ।