काठमाडौँ - इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ। चलिरहेको आईपीएल टी–२० को फाइनलमा यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस अवसरमा फिल्मका धेरै कलाकारहरुको पनि स्टेडियममा उपस्थिति रहेको थियो।
यस फिल्ममा आमिर पञ्जाबी सरदारको भूमिकामा देखिएका छन्। फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय रहेको छ।
शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ। कतिपयले ट्रेलरलाई आमिरका अघिल्ला दुई फिल्महरु ‘पिके’ र ‘धूम’बाट प्रभावित भएको विश्लेषण गरेका छन्।
ट्रेलरमा मोना सिंहले मुख्य पात्रकी आमाको भूमिका निर्वाह गरेकी छिन्। हलिउड फिल्म ‘फरेस्ट गम्प’बाट प्रभावित भए पनि निर्माताले यसमा भारतीय स्वाद मिसिएको तर्क गरेका छन्।
मुम्बईमा पनि शनिबार ट्रेलर सार्वजनिक गर्दै अभिनेता खानले फिल्मका दृश्य भारतका अलग सहरमा छायांकन भएको बताएका छन्। फिल्म ११ अगस्टमा रिलिज हुँदैछ।