काठमाडौँ - अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ।
कतारको अहमद विन अली रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो।
अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ। अस्ट्रेलियाले समूह डी मा साविक विजेता फ्रान्स, डेनमार्क र ट्यूनिसियासँग खेल्नुपर्नेछ। कतार विश्वकपका लागि छनोट हुने अस्ट्रेलिया ३१औं देश हो। अन्तरमहादेशीय प्लेअफ अन्तर्गत मंगलबार ओसियानाबाट छानिएको न्युजिल्यान्ड र उत्तर अमेरिकाको कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। सो खेलपछि कतार विश्व कपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो लाग्नेछ।