काठमाडौँ - विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरूको गुनासो छ।
नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले राष्ट्रिय उद्योगलाई प्रवर्द्धन गर्ने नीतिको अभाव रहेको बताएका छन्। उनले भने, “उद्योग प्रवर्द्धन गर्ने नीतिको अभाव छ, कतिपय नीति भएर पनि कार्यान्वयन हुन सकेको छैन।” वार्षिक एक खर्ब बढीको कारोबार हुने औषधिमा अहिलेसम्म ५० प्रतिशत मात्रै नेपाली उत्पादनको हिस्सा रहेको उनको भनाइ छ।
औषधि उद्योगलाई प्रवर्द्धन गर्न सके विदेशी मुद्रा सञ्चिति र देशभित्र आर्थिक गतिविधिमा बढोत्तरी हुने क्षेत्रीको भनाइ छ। उनले भने, “नेपालमा उत्पादन हुने औषधि विदेशबाट आयात रोक्नुपर्छ।” नेपाललाई आवश्यक पर्ने खोपलगायतका औषधिजन्य वस्तुमध्ये २० प्रतिशत तत्काल उत्पादन गर्न नसक्ने भए पनि ८० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सकिने क्षेत्रीको भनाइ छ। उनले भने, “प्रविधि हस्तान्तरणका कारण खोप लगायतका केही औषधिबाहेक सबै औषधि नेपालमै उत्पादन गर्न सकिन्छ।”
नेपाली औषधि उद्योगमा रु. ७० अर्ब हाराहारी लगानी भएको भन्दै उनले त्यसको ५० प्रतिशत बैंकिङ लगानी रहेको जानकारी दिए। पछिल्लो समय एउटै कम्पनी सञ्चालन गर्न कम्तीमा रु. ५० करोड आवश्यक पर्ने बताउँदै उनले भने, “सरकारले नीतिगत रुपमा सहजता दियो भने व्यवसायी लगानी गर्न तयार छन्।”
नेपालमा हाल ८५ उद्योगले औषधि उत्पादन गरिरहेका छन् भने केही उद्योग सञ्चालनको तयारीमा रहेका छन्।