कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार सभामुखलाई नभएको डा. महतको दाबी

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन्। 

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले  भने,  “कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो। गठबन्धन टुट्नु पर्छ भनेको छैन।” उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताएका छन्। उनले अगाडि भने, “गठबन्धनको विषय एउटा हो एमसीसीको अर्को विषय हो।”

एमसीसीमा कुनै देशद्रोह नभएको बताउँदै प्रवक्ता डा. महतले भने, “नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ। त्यो देश द्रोह हो? संसदमा पेश गरौँ, कमीकमजोरी भए आउँछन्। किन हिचकिचाहट भएको छ?” सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसदको अधिकारविपरीत भएको दाबीसमेत गरेका छन्। सबै दलहरूबाट एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने बताउँदै उनले भने, “संसदमा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने? निर्णय गर्नुपर्यो।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, “प्रचण्डले एमसीसी पास गर्छाैँ भने सिग्नेचर गरेका हैनन् र?” विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसदमा लैजान खोजिएको स्मरण गराउँदै अहिले सत्ताबाहिर पुगेपछि कुरा नफेर्न प्रतिपक्षी दल एमालेसँग समेत डा. महतले आग्रह गरेका छन्।

उनले भने, “ एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्काे कुरा! आज ठीक भोलि बेठीक! सत्तामा हुँदा ठीक, नहुँदा बेठीक! यस्तो पनि कुरा हुन्छ?”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×