काठमाडौँ - देशका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको छैन।
पन्ध्रौं योजनामा रूपान्तरणकारी योजनाका रूपमा पहिचान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरुआती अवस्थादेखि नै आवश्यक जनशक्ति पाउन नसकेको परियोजनाका अधिकारीहरूको गुनासो छ। परियोजना व्यवस्थापन एकाइ कैलालीले पनि स्वीकृत दरबन्दीअनुसारको जनशक्ति पाएको छैन। एकाइमा स्वीकृत १३ जनाको दरबन्दीमध्ये पाँचजना प्राविधिक कर्मचारी नै नहुँदा कार्यान्वयनमा समस्या रहेको परियोजनाको कैलाली एकाइ प्रमुख कलशराम चौधरीले बताए।
एकाइमा प्राविधिक जनशक्तिमात्र नभई सवारीका पनि अभाव छ। जिल्लाभर कार्यक्रम सञ्चालनमा रहेकामा भएका गाडीसमेत बिग्रँदा अनुगमन गर्न समस्या भएको छ। वरिष्ठ कृषि अधिकृतका रूपमा कार्यरत चौधरीपछिको दरबन्दी कृषि अधिकृत पदमा सुरुआती चरणदेखि नै कर्मचारी हाजिर हुन आएका छैनन्। सरकारसँग पटकपटक आवश्यक जनशक्ति माग गर्दा पनि पाउन नसकेपछि कार्यक्रम सोचेजति प्रभावकारी हुन नसकेको परियोजनाले जनाएको छ। परियोजना कार्यान्वयनमा मुख्य भूमिका खेल्ने प्राविधिक अधिकृतकै दरबन्दी पूर्ति नहुँदा प्रभावकारीरूपमा कार्यान्वयनमा समस्या आएको हो।
कैलालीमा परियोजनाको सुरुआती वर्ष आर्थिक वर्ष २०७३/७४ देखि गहुँ सुपरजोनका रूपमा कार्यक्रम सुरु गरिएको थियो। आव २०७४/७५ देखि तेलहन जोन र आव २०७८/७९ अर्थात् चालु आवदेखि धानजोनका रूपमा खेती सुरु भएको छ। जिल्लामा गहुँ सुपरजोनअन्तर्गत दुई हजार ३०० हेक्टर जमिनमा खेती गरिएको छ। गहुँको सुपरजोनका रूपमा कैलारी गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, गौरीगङ्गा नगरपालिकाको वडा नं ५, ७, ८, ९, १० र ११, घोडाघोडी नगरपालिकाको वडा नं १ देखि ९ सम्म र बर्दगोरिया गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ लाई गहुँ सुपरजोजनका रूपमा विकास गरिएको जिल्ला परियोजना व्यवस्थापन एकाइले जनाएको छ।
जिल्लाको एक हजार ५०० हेक्टर जमिनलाई तेलहन जोनका रूपमा स्थापित गरिएको छ। जानकी गाउँपालिकाको वडा नं १, २, ४ र ७, जोशीपुर गाउँपालिकाको वडा नं १ देखि ७ सम्म, भजनी नगरपालिकाको वडा नं २, ३, ६ र ८, घोडाघोडी नगरपालिकाको वडा नं १ देखि ९ सम्म र बर्दगोरिया गाउँपालिकको वडा नं १, २, ४, ५ र ६ मा तेलहन जोनका लागि आवश्यक खेती गरिएको छ। यसैगरी, धानजोनका रूपमा जोशीपुर नगरपालिका वडा नं १, २, ३, ४ र ५, भजनी गाउँपालिकाको ३, ६ र ८ एवं जानकी गाउँपालिकाको वडा नं ४ मा खेती गरिएको छ। जिल्लामा गहुँ सुपरजोनमा ४०७, तेलहन जोनमा १२७ र धानजोनमा १०२ गरी ६३६ कृषक समूह सक्रिय छन्।
यसैगरी, गहुँ सुपरजोनमा २२, तेलहन जोनमा १४ र धानजोनमा नौ गरी ४५ वटा कृषि सहकारीले काम गरिरहेका छन्। गहुँ सुपरजोनमा २०, तेलहन जोनमा नौ र धानजोनमा तीन गरी ३२ वटा कृषि फार्मले काम गरिरहेका छन्। जिल्लामा समूह, कृषि सहकारी र फार्म गरी ७१३ वटा समूहले कृषिमा काम गरिरहेका छन्। तेलहन जोनमा सूचीकृत भएकाहरू धानजोनमा पनि सक्रिय रहेको परियोजना कार्यान्वयन एकाइले जनाएको छ।
कैलालीमा गहुँ, धान, तेलहन, आलु, तरकारी र सुन्तला जातका फलफूल प्राथमिकताका बाली वस्तुका रूपमा सूचीकृत भएका छन्। कृषि गर्नेको सङ्ख्या बढ्न थाले पनि प्राविधिक जनशक्तिको अभावका कारण उपलब्धि कम रहेको प्रमुख चौधरीको स्वीकारोक्ति छ।