काठमाडौँ - घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको शानदार जित हात पारेको छ। श्रीलंकाले दिएको ५ रनको झिनो लक्ष्य अस्ट्रेलियाले चार बलमा कुनै पनि विकेट नगुमाएर पूरा गर्यो। उसका लागि १० रन नै डेविड वार्नरले बनाए।
श्रीलंका दोस्रो पारीमा मात्र ११३ रनमा समेटिएपछि अस्ट्रेलियाले ४ रनको झिनो लक्ष्य पाएको थियो। श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक २३ रनको योगदान दिएका थिए।
पाथुम निसन्काले १४, दिनेश चण्डिमलले १३, ओसदा फर्नान्डोले १२ र धनन्जय डि सिल्भाले ११ रन जोडेका थिए। अस्ट्रेलियाका लागि ट्रभिस हेड र नाथन लायनले ४/४ तथा मिचेल स्विपसनले २ विकेट लिउका थिए।
त्यसअघि गले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३२१ रन बनाएको थियो। उसका लागि क्यामरोन ग्रीन र उस्मान ख्वाजाले अर्धशतकीय पारी खेले। १०९ बलको सामना गरेका ग्रीनले ६ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए।
७१ रन बनाएका ख्वाजाले १३० बलमा ७ चौका प्रहार गरे। एलेक्स केरीले ४५, कप्तान प्याट कमिन्सले २६, डेविड वार्नरले २५, मार्नुस लाबुसेनले १३ तथा नाथन लायनले अविजित १५ रन जोडेका थिए।
श्रीलंकाका लागि रमेश मेण्डिसले ४ असिथ फर्नान्डो र जेफ्रि वान्डरसेले २/२ तथा धनन्जय डि सिल्भाले १ विकेट हात पारे। श्रीलंकाले पहिलो पारीमा २१२ रन मात्र बनाउन सकेको थियो। उसका लागि निरोशन डिकवेलाले सर्वाधिक ५८ रनको योगदान दिएका थिए। ५९ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे।
एन्गोलो म्याथ्युजले ३९, दिमुथ करुणारत्नेले २८, पाथुम निसन्काले २३, रमेश मण्डिसले २२ र धनन्जय डि सिल्भाले १४ रन बनाए। अस्ट्रेलियका लागि नाथन लायनले ५, मिचेल स्विपसनले ३ तथा प्याट कमिन्स र मिचेल स्टार्कले १/१ विकेट लिएका थिए।
यो जितसँगै अस्ट्रेलियाले दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट ८ जुलाईबाट सुरु हुनेछ।