नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका छन्।
बस्नेतका अनुसार ओलीले आइतबार जाँचबुझ आयोगसमक्ष बयान दिएका थिए। आयोगका अधिकारीहरू ओलीकै गुण्डुस्थित निजी निवास मा पुगेर बयान लिएका हुन्। ओलीले आयोगलाई दिएको जवाफका मुख्य बुँदाहरू बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
बस्नेतले सार्वजनिक गरेको विवरणअनुसार ओलीले घटनाक्रमबारे निम्न ६ मुख्य बुँदामा आफ्नो धारणा राखेका छन्—
पहिलो, २२ भदौको साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
दोस्रो, आन्दोलनमा घुसपैठ तथा अराजक समूहको प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको।
तेस्रो, आन्दोलन गर्ने अधिकांश व्यक्ति ‘जेन–जी’ पुस्ताका नभएको कुरा त्यसबेलाका फोटो तथा भिडियो प्रमाणहरूले प्रस्ट देखाउने।
चौथो, २३ भदौमा तोडफोड सुरु भई एक्कासि गोली प्रहार भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको।
पाँचौं, २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि विभिन्न कारणले त्यो सम्भव हुन नसकेको।
छैटौं, जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा सार्वजनिक धारणा राखिसकेकाले निष्पक्ष प्रतिवेदन आउने विषयमा आशंका रहेको।
ओलीको बयान सार्वजनिक भएसँगै २३ र २४ भदौको घटनाबारे राजनीतिक वृत्तमा पुनः बहस चर्किएको छ। जाँचबुझ आयोगले घटनाका कारण, जिम्मेवार पक्ष र भविष्यमा यस्ता घटना दोहोरिन नदिनुपर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन तयार गरिरहेको छ।