काठमाडौँ - भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।
भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ। नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार बेलुका ७:१५ बजे सुरु हुनेछ। आज बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बङ्गलादेशलाई पराजित गर्न सजिलो भने छैन।
च्याम्पियनशिपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो। नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ। नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनशिपमा नेपालले लगातार तीन खेलमा पराजय भोगेको छ। नेपाल भातरसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ।
तीन खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अङ्क जोडेको छ। भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ। दुई खेल खेलेको बङ्गलादेशले तीन अङ्क जोडेको छ। बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छ। अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा छ। डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशिपको शीर्ष टोलीले उपाधि जित्नेछ।