लमजुङ। जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन्। चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। यीमध्ये ९८७ महिला र एक हजार ३८९ पुरुष छन्। त्यस्तै, गत आवमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए। यीमध्ये महिला दुई हजार ३८१ र पुरुष दुई हजार ९९९ रहेको मिश्रले बताए। चार/चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको सुुरुआत गरेका थिए। परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ। सोह्र वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन्।