काठमाडौँ - गोकर्णेश्वर महादेव मन्दिरमा मङ्गलबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो। गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलीमिली बनाइएको थियो। पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ। श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन्।
भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ। वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ। मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमितरूपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ।