जेनजी आन्दोलनले दिएको घाउ: हात गुमाएकी रविलक्ष्मीको कथा

भदौ २४ को जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर रूपमा घाइते भइन् । आगलागीपछि संक्रमण फैलिएर देब्रे हात काट्नुपरेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निमोनिया समेत देखिएपछि उनलाई थप उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो उपचारपछि उनी हाल नेपाल फर्किएकी छन् । यद्यपि अहिले पनि दैनिक गतिविधिका लागि अरूको सहारा आवश्यक छ ।

आफ्नो स्वास्थ्य अवस्था बिस्तारै सुधार भइरहेको भए पनि पूर्ण रूपमा निको भइनसकेको चित्रकार बताउँछिन् । ‘पहिला बिहानै उठेर सबै काम आफैं गर्थें, अहिले उठ्नदेखि साना कामसम्म अरूको सहयोग चाहिन्छ,’ उनले भनिन् । दुवै हात राम्रोसँग चल्दैनन्, त्यसैले मोबाइल चलाउने वा समाचार पढ्ने काम पनि अरूले गरिदिनुपर्ने अवस्था छ ।

नेपालमा उपचारकै क्रममा आवश्यक औषधि नपाएपछि भारत जानुपरेको उनको भनाइ छ । ‘निमोनियाको औषधि यहाँ पाइएन, त्यसैले बाध्य भएर दिल्ली जानुपर्‍यो,’ उनले भनिन् । भारतको अस्पतालमा विभिन्न विभागबीच राम्रो समन्वय भएकाले उपचार सहज भएको अनुभव उनले सुनाइन् ।

घटनाको दिन सम्झिँदै उनले भनिन्, ‘एक्कासि ढुंगामुढा सुरु भयो, त्यसपछि बाक्लो धुवाँ फैलियो । सास फेर्नै नसकेर म ढलेछु । धेरै समयपछि मात्र होस आयो।’ छिमेकीहरूको सहयोगमा उद्धार गरी छाउनी हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइएको उनले जानकारी दिइन् ।

होसमा आउँदा देब्रे हात काटिएको थाहा पाउँदा आफू स्तब्ध भएको उनले बताइन् । ‘हात नभए पनि हात भएको जस्तो महसुस हुन्थ्यो, डाक्टरको कुरा सुनेपछि मात्र थाहा भयो,’ उनले भनिन् ।

चित्रकारका अनुसार अहिले शारीरिक पीडा बढी छ । गहिरो जलनका कारण पीडा निरन्तर हुने गरेको र पूर्ण निको हुन कम्तीमा एक वर्ष लाग्ने चिकित्सकहरूले बताएका छन् ।

नेपालको स्वास्थ्य प्रणालीबारे उनले प्रश्न उठाएकी छन् । ‘३० वर्ष शासन गर्दा पनि जलन उपचारका लागि आवश्यक पूर्वाधार बन्न सकेन,’ उनले भनिन् । सरकारले विशेष बर्न अस्पताल र बहुविशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।

आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आत्मबल बलियो बनाउन आग्रह गर्दै उनले भनिन्, ‘उनीहरूको भावना देश सुधार्ने थियो, तर कसैले त्यसको दुरुपयोग गर्‍यो । दोषीमाथि कारबाही हुनुपर्छ ।’

अन्त्यमा उनले यस्ता हिंसात्मक घटना फेरि नदोहरिनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूले जनताको आवाज सुनेर जिम्मेवार निर्णय गर्नुपर्ने बताइन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×