कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

कास्की - कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन्। स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ।

स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुवात गरेका हुन्। नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन्।

माछापुच्छे गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटका लागि एक साताअघिदेखि नै सुझाव लिन सुरु गरेको छ। सोमबार पनि राजनीतिक दल, महिला, ज्येष्ठ नागरिक तथा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसायलगायत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिबाट सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए। प्राप्त सुझावहरूकै आधारमा आगामी वर्षको नीति, कार्यक्रम बनाइने उनले जानकारी दिए।

उनले भने, “हामी नीति, कार्यक्रम तथा बजेट बनाउनेतर्फ केन्द्रित भएका छौँ। सकभर सबै पक्षसँग आगामी नीति, कार्यक्रमका विषयमा सुझाव लिएर समृद्ध माछापुच्छ्रे बनाउने लक्ष्यलाई कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने छौँ।”

उद्योगी यदुनाथ अधिकारीले स्थानीय कच्चा पदार्थको उपयोग गरेर उद्योग व्यवसाय स्थापना गर्न सकिने प्रचुर सम्भावना भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए। उनले कृषि वन पैदावारमा आधारित कच्चा पदार्थबाट उद्योग स्थापना र रोजगारी सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ नीति, कार्यक्रम र बजेट विनियोजन गर्न आग्रह गरे।

पूर्वजनप्रतिनिधि गोपाल गिरीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए। मर्दी हिमाललगायतका क्षेत्रमा बढ्दै गएको पर्यटन विकासलाई गाउँपालिकाले नियमन गर्दै पालिकाको दायरामा ल्याउनुपर्ने उनको सुझाव छ। आगामी पाँच वर्षको अवधिमा गाउँपालिकाले विकासमा कोल्टो फेर्ने गरी नयाँ आएका जनप्रतिनिधिले काम गर्नुपर्नेमा सहभागीले जोड दिएका छन्।

गाउँपालिकाले उत्पादन र रोजगारी वृद्धि गर्ने खालका र समयमै कार्यान्वयन हुने योजनालाई आगामी वर्षमा प्राथमिकता दिने भएको छ। वितरणमुखीभन्दा पनि नतिजा दिने खालका योजनामा बजेट विनियोजन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा पर्यटन, कृषि र जलस्रोतको विकासको अधिक सम्भावना भएकाले प्राकृतिक स्रोतको उपयोग गर्दै त्यसलाई पालिकाको विकासमा लगाइने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×