सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ। सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए।
आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए।
स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए। मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरिक्षक यादवले बताए।