न्याय खोज्न हामी सबै न्यायालय आ’को
अदालतमा वकिल बिचमै मुक्का मुक्की भा’को
के भएर खै कुन्नी
के भएर खै कुन्नी देशमा यस्तो भा’को जनताले दुःख पा’को ?
हामी साह्रै लाटो हो कि धेरै बाठो भा’को
हाम्रो देशमा न्याय नपाइ पाउनु दुःख पा’को
के भएर खै कुन्नी
के भएर खै कुन्नी देशमा यस्तो भा’को
जनताले दुःख पा’को ?
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा गरिरहेको आन्दोलनको विरुद्ध स्वतन्त्र कानुन व्यवसायीहरुले गरेको विरोध प्रदर्शनमा गरिएको सडक नाटक मञ्चनमा यस्तो गीत गुञ्जीएको थियो ।

निरन्तरको आन्दोलनले जनताले भोगेको दुःख र सास्तीलाई यस नाटकमा प्रत्यक्ष रुपमा प्रस्तुत गरिएको छ । उक्त प्रदर्शनमा आफ्नो अधिकार पाउनका लागि जनताको अधिकार हनन गर्नु कतिको न्यायोचित हो भनि उक्त नाटकले नेपाल बारमाथि प्रश्न तेर्स्याएको छ ।

मञ्चन भएका कलाकारहरु तीन भागमा विभाजित छन् । पहिलो पीडित जनता, दोस्रो कालो पट्टी बाँधेर निहित स्वार्थकालागि आन्दोलन रत वकिल र तेस्रो सेतो पट्टी लगाएर कालो पट्टी बाँधेर विरोध गरिरहेका वकिल विरुद्ध प्रदर्शनकारी । यसबाहेक यसमा दुई जना पात्र पत्राकारको रुपमा पनि प्रस्तुत गरिएको छ । पीडित जनताको रुपमा देखाइएका पात्रहरु न्यायको लागि न्यायालयको ढोका ढकढकाइ रहेको न्यायको लागि गुहार गरिरहेको देखाइएको छ । उनीहरुलाई केही वकिलहरुले आफ्नै मान्छेले इजलाश गर्ने भन्दै उनीहरुबाट पैसा असुलेको देखाइएको र सुनुवाई हुन छ महिना लाग्ने देखाइएको छ । यस नाटकको यो भागले न्यायालयमा रहेका विचौलियाहरुलाई राम्रैसँग व्यङ्ग्य गरिएको छ ।

त्यसै गरि नाटकमा पीडित जनताहरुले निरन्तरको इजलाश बहिष्कार र बन्द न्यायालयका कारण भोग्नु परेको पीडालाई पनि मञ्चन गरिएको छ । पत्रकारले प्रश्न गर्दा जवाफ दिन नसक्ने बनेका पीडितहरु कालो पट्टी बाँधेको आन्दोलनकारीहरुले प्रहरी आएको आवाज सुनेपछि भाग्दा प्रहरीको प्रहार निर्दोष पीडित माथि परेको देखाइएको छ । जसले नेपाल बारको आन्दोलनको कारण निर्दोष पीडित जनताहरु पीडाको भागिदार हुनु परेको चित्रण गरिएको छ ।

दिनहुँको बन्दका कारण पीडित जनता आजित भएर आवाज उठाउन थालेको परिदृश्य पनि नाटकमा मञ्चन भएको छ । त्यसै गर पीडित जनताले न्याय पाउनु पर्छ भन्दै जनताको आवाज बोकेका सेतो पट्टी बाँध्ने वकिलहरुले आन्दोलनको विरोध गर्दै स्वच्छ न्यायपालीकाको माग गरेको पनि उक्त नाटकमा प्रस्तुत गरिएको छ ।

न्यायपालिका बन्द हुँदा पीडित जनताले पाएको दुःखलाई प्रस्तुत गर्दै एक पीडित पात्रले रुँदै न्यायालयमा न्याय नपाउने हो भने त्यो कालोकोट घरमै झुण्ड्याए भै गयो नि भनेको आवाज निकै कारुणिक छ ।
समग्रमा भन्दा उक्त सडक नाटकले न्यायालयको गतिरोध अन्त्य गर्दै पीडित जनतालाई न्याय पाउने मौलिक हकबाट वञ्चित गर्न नहुने सन्देश प्रवाह गरेको छ ।
