काठमाडौँ - ह्युङ–मिन सन र डेजान कुलुसेभस्कीको समान दुई गोलप्रेरित टोटनहमले आइतबार राति नर्विच सिटीलाई ५–० ले हराउँदै युईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। रेलिगेसनमा परेको नर्विचविरुद्धको जितसँगै टोटनहमले शीर्ष चारमा रहेर लिगको अन्त्य गरेको हो।
जित्नैपर्ने खेलमा टोटनहमले १६औँ मिनेटमा कुलुसेभस्कीको गोलबाट अग्रता लिएको थियो। ३२औँ मिनेटमा ह्यारी केनले पाहुना टोली टोटनहमको अग्रता दोब्बर बनाएका थिए। ६४औँ मिनेटमा कुलुसेभक्कीले तेस्रो गोल गरे। ७०औँ मिनेटमा सनले चौथो गोल गरे भने ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए।
यससँगै टोटनहमले शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। टोटनहमले ७१ अंक जोडेको हो। जुन पाँचौँ स्थानको आर्सनलभन्दा दुई अंकले माथि छ। आर्सनलले आजै राति एभर्टनमाथि ५–१ को विजय हासिल गरेको थियो। तर टोटनहमले नर्विचमाथि विजय हासिल गरेसँगै आर्सनलको शीर्ष चारमा रहने सम्भावना समाप्त भएको हो।