काठमाडौँ - पौष शुक्लपूर्णिमादेखि साँखुस्थित शालिनदीमा माधवनारायणको व्रत बसेका व्रतालुले तीर्थयात्राका क्रममा स्नान गरेर चाँगुनारायण मन्दिरमा पूजा तथा आराधना गरेका छन्।
व्रतालुले मूल मन्दिरमा माधवनारायण राखेर विशेष पूजा गरेका हुन्। चाँगुनारायणको विशेष पूजा गरेसँगै यस वर्षको तीर्थयात्रा पनि सम्पन्न भएको छ। माघ शुक्ल एकादशीका दिन (शनिबार) व्रतालु पैदल हिँडेर चाँगुनारायण पुगी बास बसेका थिए। द्वादशीका दिन स्नान गरी चाँगुनारायणमा विशेष पूजा तथा आराधना गर्ने व्रतविधि छ। आज आइतबार बिहान विशेष पूजा सकेपछि व्रतालुले साँखु पुगी भोजन गरेको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउँछन्।
यसअघि, पशुपतिबाट शेषनारायणसम्म र पनौती गरी दुई वटा तीर्थयात्रा सम्पन्न भइसकेको थियो। तीर्थयात्रा सम्पन्न भएपछि माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने व्रत समापन पूजाका लागि भक्तजनलाई निमन्त्रणा गरिन्छ। बज्रयोगिनी माईललगायत साँखु बजार बाहिर पनि सुनिने गरी व्रत समापनको निमन्त्रणा गर्ने प्राचीनकालदेखिको विधि छ। फागुन ४ गते माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन (साङ्गे) गरिन्छ। यसलाई स्थानीयवासीले अश्वमेध यज्ञ पनि भन्छन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ।
साँखुको शालिनदीमा यसवर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन्। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ।