केराखेतीबाट मनग्य आम्दानी

काठमाडौँ - कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रूपमा परिचत छन्।

व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उनी संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उनले अगाडि बढाउँदै आएका छन्। व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा रु. एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट उनले रु. एक करोड कर्जा लिएका छन्। पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ। यसबाट वार्षिक रूपमा प्रतिबिघा रु. सात लाखदेखि रु. नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ। केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु. तीन लाख ५० हजारजति लाग्ने गरेको छ। लागत खर्च कटाएर रु. पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ।

केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफै खटिँदै आएका छन्। “आवश्यक परेका बेलामात्रै १०-१५ जना मजदूरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उनले भने, “बाँकी समय आफै कार्य गर्छौं।” केरा खेतीलाई उनले एक दशकदेखि अपनाउँदै आएका छन्। “पहिला परम्परागतरुपमा केराखेती हुने गरेको थियो”, उनले भने, “त्यसलाई आधुनिकीकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेको छ।” केराखेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न छन्।

घर नजिकै निर्माण गरिएका दुईवटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरिएका छन्। फार्ममा पालिएका कुखुराले दैनिक ३ हजारदेखि ४ हजार ५०० सम्म अण्डा दिने गरेका छन्। दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ। उत्पादित अण्डा नजिकैका बजारमा सहज रूपमा खपत हुने गरेका छन्। मासिक रूपमा रु. १५ लाख र वार्षिक रूपमा रु. एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेका छन्। “अण्डा भण्डारण गर्नका लागि उनले घरमै विद्युतीय चेम्बरसमेत निर्माण गरेका छन्। बजारमा खपत नभएको अण्डा चेम्बरमा राख्ने गरेको छु”, उनले भने, “बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ।” सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको छ।

तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ। “केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो”, कृषक बोहराले भने, “घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहज रूपमा बेच्न पाएका छौँ।” उनी सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भइसकेका छन्। प्रदेश सरकारले उनलाई उत्कृष्ट किसानका रूपमा केही महिनाअघि पुरस्कृत गरेको थियो। पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसला थपिएको छ। बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बङ्गुरका पाठा चितवनबाट ल्याई पालन गरेका छ।

हाल बच्चा र माउ गरी २४ वटा बङ्गुर उनको फार्ममा रहेका छन्। निकट भविष्यमै माछापोखरी बनाई त्यसको डिलमा बङ्गुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उनको रहेको छ। बङ्गुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन्। कुखरा र बङ्गुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउँदैनन्। घरमै रहेको दाना बनाउने उद्योगबाट उनले दाना तयार गर्दै आएका छन्। “बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो रु. ७ देखि १० सम्म सस्तो पर्छ”, उनले भने, “बजारको भन्दा गुणस्तरीय पनि हुन्छ। जसबाट उत्पादन लागत घटनासँगै आम्दानी चाहेजस्तै हुन्छ। बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन।” सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उनले स्थापना गरेका हुन्।

हरेन्द्रका बुवाले २०७० सालअघि घरमै व्यावसायिक रूपमा गाईपालनको कार्य गर्दै आएका थिए। थोरै जग्गामा केराखेतीलाई समेत अँगालेका थिए। मजदूरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन। त्यसबेला काठमाडौँस्थित शङ्करदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए। व्यवस्थापनतर्फको एमबिएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाइजेसनमा काम गरे। काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ । त्यो कार्य कृषिबाटै सम्भव हुने देखेर उनी घर फर्किएका थिए। 

घर फर्केपछि, “केही महिना बुवासँगै काम गर”, उनले भने, “परम्परागत रूपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो ।” परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उनी अग्रसर भएका छन्। “केराखेतीलाई अगाडि बढाउनका लागि उनले सुरुमा बैंकबाट रु. २० लाख कर्जाका रुपमा रकम लिए। कर्जाका रूपमा लिएको रकमले केराखेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे”, उनले भने, “बैंकको व्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए। त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरापालनको कार्य अगाडि बढाए। कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्र्याक्टर, ट्राली, पावर टिलर सबै जोड्न सफल भए।” उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ। 

आम्दानी गर्ने स्रोत धेरै भए पनि पढेका युवाले गर्नै नमान्ने कृषि पेशालाई व्यावसायिक रुपमा अपनाएको उनी बताउँछन्। “शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ”, उनले भने, “त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु। यसमै खुसी छु।” टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीलेसमेत जागिर छाडेर उनको कृषि कार्यमा साथ दिँदै आएकी छन्। उनी भन्छन्, “कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ। राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए।”

सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ। युवालाई कृषि कार्यमा सहज रूपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ। त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ।” सफल किसानका रूपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरैजना युवा कृषि पेशामा संलग्न हुन थालेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×